Thursday, January 05, 2023

मिटरब्याजी पीडितले पाए आश्वासन, पाएनन् न्याय

 

मिटरब्याजी पीडितले पाए आश्वासन, पाएनन् न्याय

अजवी पौड्याल, धनबीर महतो, अन्नपूर्ण पोषट, २१ पुष २०७९ ०७:२७

महोत्तरी : हिमाली र पहाडी जिल्लामा भन्दा मधेसमा मिटरब्याजीका पीडित धेरै छन्। अत्यावश्यक परेको समयमा दिएको रकमलाई बढाउँदै नक्कली कागज बनाएर ऋणीलाई हस्ताक्षर गराएर दोब्बर–तेब्बरभन्दा बढी रकमसहित घरजग्गा हडप्ने क्रम मधेसमा नयाँ होइन। यस्तो क्रम नरोकिएपछि पीडित आन्दोलित मात्रै बनेन्, राजधानीमा अएर अनशनसमेत बसे। तर, समस्या अझै ज्युँका त्युँ छ।  

मिटरब्याजी तथा ठगी गर्ने गिरोहको विरुद्धमा सरकारले देशभरका पीडितलाई उजुरी दिन सूचना पनि जारी ग¥यो। त्यसपछि देशभरबाट २ हजार २ सय ८९ उजुरी दर्ता भए। उजुरीउपर अनुसन्धान भइरहेको प्रहरी प्रशासनले बताए पनि मधेसमा साहुबाट ठगिने क्रम रोकिएको छैन। नयाँ सरकार बनेपछि पीडित अब न्याय पाइन्छ कि भन्ने आशामा छन्। उनीहरू अहिले पनि प्रश्न गर्छन्, ‘प्रधानमन्त्रीज्यू, हामीले कहिले न्याय पाउने ?’ उनीहरूले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेसँग चाँडो न्याय दिन माग गरेका छन्। 

तमसुक एउटा कानुनी रूपमा आधार रहेको कागजी प्रक्रिया हो । त्यसैले यसलाई अदालतले प्रमाणको रूपमा लिने गरेको छ। तमसुक बनाउने क्रममा सचेत अनि बुझेर मात्र सही गर्ने बानी नबसाउँदा घातक हुन सक्छ।
सुशील चौधरी 
अधिवक्ता

 

राष्ट्रिय मुद्दाको रूपमा मुलुकमा देखा परेका मिटरब्याजी पीडितको पक्षमा आवाज उठाएर सबैले सहयोग गर्नुपर्छ। 
सरस्वतीकुमारी मिश्र
समाजसेवी

विगत एक दशकदेखि तराईमा मिटरब्याजी पीडितले न्याय माग्दै गाउँदेखि काठमाडौंसम्म आन्दोलन गरे। गृह मन्त्रालयले पीडितलाई न्याय दिलाउन सम्झौता गरे पनि कार्यान्वयन नगरेको उनीहरूको गुनासो छ। सिराहाका मिटरब्याजी पीडितले आफूहरूले न्याय नपाए आन्दोलन चर्काउने चेतावनी दिएका छन्। 

उता नवलपरासीका पीडितले पनि गत भदौमा सरकारले गरेको पाँचबुँदे सम्झौता लागू नगरेकाले पुनः आन्दोलन गर्ने अवस्था आउन लागेको बताएका छन्। यसअघि पीडितसँग शेरबहादुर देउवा नेतृत्वको सरकारले न्याय दिने भन्दै सम्झौता गरेको थियो। अब त्यसको कार्यान्वयन नयाँ सरकारले चाँडै गर्नुपर्ने उनीहरूको माग छ। 

यसअघि सर्लाहीका रामबाबु राय, श्याम परदेशी र महोत्तरीका अनिरुद्ध साहलाई सरकारले नियन्त्रणमा लिएर कानुनी कारबाहीसमेत सुरु गरेको थियो। तर, उनीहरूजस्ता दर्जनौं मिटरब्याजीहरू अहिले पनि कानुनको दायरामा छैनन्। ठगिने क्रम पनि रोकिएको छैन। 

मिटरब्याजीले दिइरहन्छन् मानसिक तनाव

दिनभरि श्रीमान् रक्सीको नशामा हुन्छन्। साहुले घर हटाउन दैनिक दबाब दिँदै आएका छन्। मानसिक तनाव झेल्न साह्रै नै गाह्रो भो हजुर’, भंगहा नगरपालिका–५ की सकलिया देवीले गुनासो गरिन्। मिटरब्याजीले दिने मानसिक तनाव असह्य भएपछि उनका श्रीमान् सत्य नारायण ठाकुर दिनभरि नै रक्सी खान्छन्। 

मिटरब्याजी राजकरण साहले पैसा मागेर अनावश्यक मानसिक तनाव दिएपछि सत्यनारायणले रक्सी खान सुरु गरेको श्रीमती सकलियादेवी सदा बताउँछिन्। मिटरब्याजी साहले विगत १२ वर्षदेखि घर नै अन्तै सारेर जग्गा खाली गर भन्दै दबाब दिँदै आएको सकलियाले बताइन्। गहभरि आँसु पार्दै उनले भनिन्, ‘सासू विमलादेवी सदासँग झुक्याएर राजकरणले कपाली कागजमा आंैठाछाप लगाएका रहेछन्। सीतापुर बजारको चौकमै रहेको १ करोडभन्दा बढीको साढे ४ कठ्ठा बराबरको घडेरी राजकरणले छल गरी आफ्नो नाममा पारे। तत्कालीन समयमा जिल्ला अदालत महोत्तरीमा कार्यरत उनले निरक्षर रहेकी मेरी सासूसँग सजिलै जग्गा नामसारीका लागि सम्पूर्ण कागजी प्रक्रिया पूरा गर्न भ्याएका रहेछन्।’

सो विषयमा केही समय पहिले गाउँमा पञ्चायतीसमेत बसेको थियो। जसमा साहले आफूहरूलाई खुलारूपमा चुनौती र धम्की दिएको सकलियाले बताइन्। यहाँबाट सरुवा भएपछि उनले सो जग्गा आफ्नो सालो रघुवीर साहको नाममा पास गरिदिए। अहिले घर हटाउन अदालतमा मुद्दा परेपछि तारेखमा जानुपर्ने बाध्यता छ। 

तमसुक च्यातिएन, ५ लाख तिर्नुपर्ने तनाव 

भंगहा नगरपालिका–५ सिद्धपुरकी गीतादेवी सदाका श्रीमान् शिवनारायण सदा वैदेशिक रोजगारीको सिलसिलामा ६ वर्ष पहिले कतार पुगेका थिए। एजेन्टका कामसमेत गर्दै आएका राजकरण साहले उनलाई वैदेशिक रोजगारीमा पठाएका थिए। तत्कालीन समयमा १ लाख १० हजार रुपैयाँ पछि तिर्ने शर्तमा शिवनारायण विदेश गएका थिए। सो रकम तमसुक गरेर राजकरण साहसँग ऋणवापत उनले लिएका थिए। शर्तअनुसार विदेश जानुभन्दा अगाडि शिवनारायणले ३० हजार रुपैयाँ तिरेका थिए। 

३० हजार रुपैयाँ तत्काल टिकटबापत दिइने र बाँकी रकम ऋण स्वरूप चुक्ता गर्ने सहमति भएको शिवनारायणकी श्रीमती गीतादेवीले बताइन्। भनिन्, ‘श्रीमान्ले एक वर्षपछि पठाएको रेमिट्यान्सबाट सो रकम चुक्ता गरेका थियौं। ऋणको मूल र ब्याजसमेत गरी १ लाख ७० हजार रुपैयाँ तिर्दा पनि अझ कपाली तमसुक च्यातिएको छैन। उल्टै ५ लाख रुपैयाँ तिर्न बारम्बार दबाब आइरहेको छ।’ गीताले भक्कानिँदै थपिन्, ‘हातमा सीप छैन। आफ्नो नाममा एक धुर पनि जग्गा जमिन छैन। ऐलानीमा सानो झुप्री छ। सोहीमा जसोतसो गुजारा चलाउँदै छु। उनलाई ५ लाख रकम कहाँबाट ल्याएर तिरुँ।’ 

रकम चुक्ता गरिसक्दा पनि तमसुक फिर्ता भएन 

भंगहा नगरपालिकाका प्रगास राम २ वर्ष पहिले वैदेशिक रोजगारको सिलसिलामा साउदी पुगेका थिए। साउदीमा सम्झौताअनुरूप काम नपाएपछि उनी १ वर्षमै स्वदेश फर्किए। विदेश जाने क्रममा लाग्ने सम्पूर्ण रकम एजेन्ट राजकरण साहले नै तिरेका थिए। तत्कालीन समयमा १ लाख १० हजार रुपैयाँ खर्च भएको थियो। सो रकम कपाली तमसुकमा सही छाप र औंठा छाप लगाएर साहसँग ऋण लिएका थिए। 

प्रगासकी श्रीमती रामतोला चमर्नीले भनिन्, ‘सम्झौतापत्रमा उल्लेख भएका शर्तअनुसार राजकरणले पैसा फिर्ता त परै जाओस्, पैसा चुक्ता गर्न दबाब दिन थाल्यो। हामीले जसोतसो जोहो गरेर दुई किस्तामा उनको सम्पूर्ण रकम चुक्ता ग¥यौं।’ 

कानुनका जानकारसमेत रहेका एजेन्ट साह धेरै नै चतुर छन्। उनलाई २ वर्ष पहिले नै ऋणबापतको सम्पूर्ण रकम चुक्ता गर्दासमेत उनले अझ तमसुक फिर्ता गरेका छैनन्। उनको नियतमा खोट छ भन्दै रामतोलाले अगाडि भनिन्, ‘तमसुक माग्न जाँदा उल्टै धम्कीपूर्ण भाषा प्रयोग गर्दैछन्। बस्नका लागि आफूसँग रहेको दुई धुर जमिनमाथि पनि आँखा लाइसकेका रहेछन्।’ 

तमसुक फिर्ता माग्दा नयाँ कागज 

भंगहा नगरपालिका–३ सकरी टोलका रामनारायण सदा मुसहरले गाउँकै साहु राजकरण साहसँग अढाई लाख रुपैयाँ ऋण लिएका थिए। घडेरी खरिद गर्ने क्रममा पैसा अपुग भएपछि रामनारायणले सय कडा ४ रुपैयाँका दरले ऋण उठाएका थिए। अहिले ऋणीलाई १० लाख रुपैयाँ तिर्नका लागि बारम्बार तनाव दिँदै आएको उनकी श्रीमती सावित्री मुसहरले बताइन्। गहभरि आँसु पार्दै सावित्रीले भनिन्, ‘अढाई लाख ऋणको आफूले एक वर्ष नबित्दै ५ लाख ७० हजार रकम तिरिसकेको छु। साहुले अझ २ लाख रुपैयाँ चाहिन्छ भन्दै हिसावमा बेइमानी गरेका थिए।’

उनले थपिन्, ‘खरिद गरिएको घडेरी बिक्री गरेर उनलाई चुक्ता गरेका थियौं। तमसुक फिर्ता माग्न जाँदा श्रीमान्सँग नयाँ कागज बनाएछ। जसमा १० लाख रकम ऋण लिएको उल्लेख छ। पुरानो तमसुक नदिइकन रित्तै हात घर फर्काएका थिए।’ राजकुमारले १० लाख रकम चुक्ता गर्न बारम्बार ताकेता गर्दै आएको सावित्रीले बताइन्। 

ऋण दिलाउन जमानी बसेकी लिलम भइन् बेघर 

ऋण दिलाउने क्रममा जमानीमा बसेकी लिलमकुमारी ठाकुर अहिले घरवारविहीन भएकी छिन्। गाउँकै धनी अनिता पण्डितसँग ऋण दिलाउने क्रममा जमानीमा बसेको भन्दै लिलमलाई उनका श्रीमान् गगनदेव ठाकुरले घर निकाला गरिदिएका छन्। 

लिलम विगत १ बर्षदेखि आफन्तको शरणमा छिन्। गाउँकै साथी अमृत मण्डललाई एक लाख रुपैयाँ ऋण दिलाउने क्रममा लिलम जमानीमा बसेकी थिइन्। पछि अमृत परिवारसहित गाउँ छाडेर भागेका छन्। अमृत सम्पर्कविहीन भएपछि जमानीमा बसेकी लिलमसँग अनिरुद्ध साहमार्फत कागज (तमसुक) बनाएका थिए। अनिरुद्धले उनको नाममा रहेको ५ धुर जग्गा रोक्का गरेका छन्। अमृतसँग १ लाख बराबरको तमसुक अनिताले अनिरुद्धसँग चेकमार्फत सटही गरेका थिए। पछि अनिरुद्धले सोही तमसुकको आधारमा लिलमसँग अर्को तमसुक बनाएका छन्। 

निरक्षर सजिलै फस्छन् 

एक सर्वेक्षणका अनुसार भंगहा नगरपालिका भित्रमा मात्रै मिटरब्याजी राजकरण साहले ठगेका २ सयभन्दा बढी पीडित छन्। उनी गाउँका दलित एवम् निरक्षरलाई सजिलै फन्दामा पार्छन्। राजकरणले मौकाको फाइदा कपाली तमसुक बनाएर उठाउँदै आएका छन्। 

गाउँकै लेखनदास अर्थात् कागज बनाउनेलाई पैसाको प्रलोभनमा पारी ऋण दिने बखतमा तमसुकमा औंठाछाप लगाउँदै आएका छन्। स्रोतका अनुसार राजकरणले ऋणीलाई दिने रकमको अंक र कागजमा उल्लेख भएको अंकको संख्यामा धेरै फरक हुन्छ। कम रकम भनेर औंठाछाप लगाउने तर सर्वसाधारण ऋणीहरूसँग पछि सोही कागज देखाएर १० गुणा बढी दरमा रकम असुल्नका लागि यहाँका धनी सिपालु भइसकेका स्थानीय बताउँछन्। 

के भन्छन् सरोकारवाला ?

मिटरब्याजी श्याम प्रदेशीविरुद्ध सर्लाहीमा आन्दोलन चर्काएका डाचाराज वाग्लेकी श्रीमती सरस्वतीकुमारी मिश्र मिटरब्याजी पीडितको पक्षमा आवाज उठाउनुपर्ने बताउँछन्। भन्छिन्, ‘राष्ट्रिय मुद्दाको रूपमा मुलुकमा देखा परेका मिटरब्याजी पीडितको पक्षमा आवाज उठाएर सबैले सहयोग गर्नुपर्छ।’ 

अधिवत्ता सुशील चौधरी तमसुक बनाउँदा सचेत हुनुपर्ने सुझाव दिन्छन्। भन्छन्, ‘तमसुक एउटा कानुनी रूपमा आधार रहेको कागजी प्रक्रिया भएकाले यसलाई अदालतले प्रमाणको रूपमा लिने गरेको छ। तमसुक बनाउने क्रममा सचेत अनि बुझेर मात्र सही गर्ने बानी नबसाउँदा घातक हुन सक्छ। तसर्थ समयमै ध्यान दिनु आवश्यक छ।’ तमसुकमा सही गर्ने क्रममा सकभर वडाध्यक्षको रोहवरमा गर्न उनी सुझाव दिन्छन्।


सबै प्रकारका लिखत स्थानीय तहमा दर्ता गर्नुपर्ने’

काठमाडौं :२० वर्षअघिको तमसुक होस् या दशकौं अघि गरिएका लेनदेनका ‘लिखत’, ती सबै स्थानीय सरकारमा दर्ता गनैपर्ने कानुनी मस्यौदा तयार भएको छ। उक्त मस्यौदा कार्यदलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको छ। 

दर्ता नभएका कुनै पनि लिखतलाई आधिकारिक नमानिने कानुनी व्यवस्था निर्माण गर्न सुझाव सहितको मस्यौदा मिटरब्याजी अपराधी नियन्त्रण सिफारिस कार्यदलले गृहमन्त्रीलाई बुझाएको हो। कार्यदलका संयोजक भीष्मकुमार भुसालका अनुसार मस्यौदा तयार भएसँगै अब कानुन निर्माणको बाटो पनि खुलेको छ। 

मस्यौदामा मिटरब्याजीले प्रयोग गर्ने भनिएको सबै प्रकारका लिखतहरूको सत्य मापन गरिने र कागजातको आधिकारिकता निक्र्यौल गर्नुपर्ने बताइएको छ। यसका लागि निश्चित कार्यविधि नै निर्माण गर्नुपर्ने कार्यदलको सुझाव छ। 

संयोजक भुसालका अनुसार मुलुकी देवानी संहिता जारी भएपछिको हकमा २०७४ पछि ५० हजारमाथि सबै प्रकारका लेनदेन पालिकामा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था छ। यो व्यवस्था आएपछि मिटरव्याजी झनै बाठा भएका छन्। कारोबार अहिले गरे पनि पुरानो होभन्दै मिति ढाटेर किर्ते कागज उनीहरूले बनाउने गरेका छन्। यसका विरुद्ध अब जुनसुकै समयको लिखत भए पनि स्थानीय सरकारमा दर्ता गर्नुपर्ने नियम राखिएको हो। दर्ता गर्दा उक्त लिखतको आधिकारिकता निक्र्योल गर्ने र दुवै पक्षको सहमतिमा मात्रै दर्ता गरिने व्यवस्था मस्यौदामा समेटिएको छ। यो व्यवस्थाले कानुनी मान्यता पाए सबै प्रकारका लिखत कानुनी दायरामा आउने भुसालले बताए। 

यस्तै मिटरब्याजीको विस्तृत परिभाषा र मिटरब्याजी प्रकृतिको अपराध कस्तो हुन्छ भन्ने जानकारी सहितको प्रस्ताव पनि मस्यौदामा समेटिएको छ। भुसाल भन्छन्, ‘यस्तो प्रकृतिको कार्य गर्नु फौजदारी अपराध हो। र, यस्तो कार्यलाई अपराधको रूपमा अनुसन्धान हुनुपर्छ।’ 

उनले लेनदेनको कारोबार हुने बेलामा कसैले ऋणीको जग्गा ऋण फिर्ता गरेपछि फिर्ता गर्ने किसिमले धनीले पास गर्ने र पछि फिर्ता नगर्ने समस्या निकै भेटिएको बताउँदै भने, ‘यस्ता समस्यालाई समाधान गर्न हामीले ठगी गरेको आधार भेटिएमा ऋण लिने व्यक्तिलाई अफ्ठ्यारोमा पारी सम्पत्ति खान खोज्ने साँहु महाजनविरुद्ध सरकारले कानुनी कारबाही गर्नुपर्ने बुझाव दिएका छौं। स्वामित्व हस्तान्तरण भइसकेको जग्गा पनि फिर्ता हुने व्यवस्था मस्यौदामा समावेश छ।’

यो सँगै गृह मन्त्रालयमा पेस गरेको मस्यौदामा फोजदारी र देवानी संहितामा केही थप गर्नुपर्ने सुझाव राखिएको छ। देशभरका मिटरब्याजी पीडितहरू राजधानीमा आएर आन्दोलन गरेपश्चात् सरकारले यस्तो अपराध गर्नेलाई कानुनी रूपमै कारबाही गर्ने निर्णय गरेको थियो। 

सोहीअनुसार नै २०७९ असोज १ गते मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिसँग सहमति भएको थियो। कार्यदलले मिटरब्याजी अपराध नियन्त्रणका उपायहरूको सिफारिससहित गत भदौमै प्रतिवेदन पेसगरेको थियो। 


को हुन् राजकरण साह ?

भंगहा नगरपालिका–६ घर भएका राजकरण साह जमिन्दार हुन्। उनी जिल्ला अदालत महोत्तरीका तत्कालीन खरिदार हुन्। हाल उनी सिरहा जिल्ला अदालतमा सोही पदमा कार्यरत छन्। यसका साथै उनी वैदेशिक रोजगार कम्पनीका एजेन्टसमेत हुन्। उनले गाउँका बेरोजगारलाई विदेश पठाउने काम पनि गर्दै आएका छन्। पैसा नहुने युवालाई तमसुक बनाइ चर्को ब्याजदरमा ऋण दिने र उक्त तमसुककै आधारमा ब्याज खाने तथा ब्याज दिन नसक्ने वा ब्याज र सावाँ तिरेकाहरूसँग पनि पैसा नदिएको भनी अदालतमा मुद्दा हाल्ने गरेको पीडितको गुनासो छ। 

उनले थोरै ऋण दिएर धेरैको नक्कली कागज बनाएको पाइन्छ। धेरै स्थानीय दलित, थारु र विपन्नका जायजेथा हडपेका छन्। गाउँकै रिना सदालाई अभद्र व्यवहार गरेको भन्दै उनले जरिवानासमेत तिरेका थिए। २०७६ साल कात्तिक २६ गतेका दिन तत्कालीन प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद खत्रीले उनलाई १ लाख रुपैयाँ धरौटी राखेर छाडेका थिए।

 

 

नेपालमा सामाजिक सुरक्षाको अवस्था

  सामाजिक सुरक्षाको अवस्था सुरेश प्राञ्जली Nagrik News १८ मंसिर २०७१ मानवीय पुँजीको संरक्षण तथा प्रवर्द्धन गर्ने भरपर्दो औजारमध्येको ...