Showing posts with label दार्चुला. Show all posts
Showing posts with label दार्चुला. Show all posts

Tuesday, September 07, 2021

भारतलाई पठाइएको ‘कूटनीतिक नोट’ खासखुसको विषय हो ?

 भारतलाई पठाइएको ‘कूटनीतिक नोट’ खासखुसको विषय हो ? 

परराष्ट्र मन्त्रालयले ३ दिन बितिसक्दा पनि औपचारिक जानकारी दिएको छैन

कान्तिपुर, भाद्र २२, २०७८मणि

काठमाडौँ — दार्चुला तुइन घटना र नेपाली आकाशमा अनाधिकृत भारतीय हेलिकोप्टरको उडानका विषयले अहिले सरकारविरुद्ध सडक तातिएको छ । राजधानीका धेरै स्थानमा हरेकदिन यी घटनालक्षित प्रदर्शन र विरोध भइरहेका छन् । सामाजिक सञ्जालदेखि नागरिक तहसम्म यो विषयमा सरकारले राखेको मौनतामाथि प्रश्न उठेका छन् 

सर्वत्र आलोचना र दबाबपछि सरकारले गत शुक्रबार र आइतबार क्रमशः तुइन घटना र हेलिकोप्टर प्रकरणबारे भारत सरकारलाई कूटनीतिक पत्र पठाएको छ । तर, पत्र पठाएको तीन दिन भइसक्दा पनि सरकारी अधिकारीहरू मौन छन् 

सञ्चारमाध्यमहरूले आफ्नो स्रोत प्रयोग गर्दै कूटनीतिक नोटबारे समाचार प्रकाशित/प्रसारित गरेका छन् । यस्तै पत्रबारे हालसम्म परराष्ट्र मन्त्रालय मौन छ । हाल प्रधानमन्त्री शेरबहादुर देउवाले नै मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । यो विषयमा प्रधानमन्त्री कार्यालय पनि बोलेको छैन । मन्त्रीहरु पनि अनौपचारिक कुरा मात्र गर्छन्, यस विषयमा मुख खोल्न चाहँदैनन्  सडकमा प्रर्दशन बढ्दैछ, नागरिक जिज्ञासा चुलिँदो छ । तर, सरकारले एउटा विज्ञप्तिसमेत जारी गरेर औपचारिकता पूरा गरेको छैन । यसलाई कूटनीतिक जानकारहरू समेतले आश्चर्य प्रकट गरेका छन् । कूटनीतिक सम्बन्ध, पत्राचारहरूलाई कति पारदर्शी बनाउने भन्ने राज्यको सीमा हुन सक्छन् । तर जनमतको बलमा बन्ने लोकतान्त्रिक सरकारले नागरिकबाट उठेका जिज्ञासालाई सम्बोधन गर्ने औपचारिकता पूरा गर्नुपर्ने हुन्छ । तर, यो मामिलामा कसैले औपचारिकता पूरा गर्ने जमर्को देखाएका छैनन् 

परराष्ट्र मन्त्रालयका पूर्वसचिव मधुरमण आचार्यले पत्र जस्ताको त्यस्तै सार्वजनिक गर्नु राम्रो नहुने भएपनि विज्ञप्ति जारी गरेको जानकारी गराउनु पर्ने बताए । ‘लेखेको पत्रको सबै कुरा बाहिर सार्वजनिक गर्नु हुँदैन । तर के के विषय बस्तुलाई उठाएका छौं भनेर जानकारी सबैले पाउनु पर्छ । यस विषयमा मन्त्रालयले प्रेस रिलिज नै गर्नुपर्ने हो’ आचार्यले इकान्तिपुरसँग भने, ‘दार्चुलाको विषय जनचासो र राष्ट्रिय मुद्दा बनिसकेको छ । खासखुसको विषय होइन ।’

सरकारले दार्चुला घटनाको विषयमा भारतसँग विरोध गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ । प्रमुख प्रतिपक्षी दलले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाउँदै आएको छ 

वैदेशिक मामिलाका जानकार एमाले सांसद दीपकप्रकाश भट्टले कूटनीतिक नोट पठाउने विषय गोप्य नभएकाले जनतालाई सूचित गराउने जिम्मेवारी सरकारको भएको बताए 

यो कोभर्ट होइन ओपन कुरा हो । पत्र पठाएको विषय गोप्य राख्नुपर्ने विषय होइन,’ भट्टले भने, ‘एक त सरकारले यो विषयमा ढिलो कदम चालेको छ । नियमित पत्रकार सम्मेलन वा विज्ञप्तिमार्फत के-के विषयहरु रहेका छन् सार्वजनिक गरिनुपर्छ ।’ भट्टले प्रजातान्त्रिक मुलुकमा अन्य देशको सम्बन्धको बारेमा जनताले सूचित हुने अधिकार हुने भन्दै सरकारले औपचारिक रुपमा जानकारी गराउनुपर्ने बताए । ‘जनताले मेरो सरकार के गर्दैछ भनेर आश्वस्त हुने विषय हो नि । प्रजातन्त्रमा यो भ्यालु झनै बढी हुन्छ,’ भट्टले भने 

पूर्वसचिव आचार्यले यसअघि सीमा विवादको विषयमा भारतलाई कूटनीतिक नोट पठाउँदा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको उदाहरण दिए । २०७७ वैशाख २९ मा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई परराष्ट्र मन्त्रालय बोलाएर कूटनीतिक नोट बुझाएका थिए । मन्त्रालयले क्वात्रालाई कूटनीतिक नोट बुझाउँदाको फोटो पनि सार्वजनिक गरेको थियो । भारतले अतिक्रमित नेपाली भूभाग हुँदै कालापानी क्षेत्रमा सडक निर्माण गरेपछि नेपालले विरोध गर्दै कूटनीतिक नोट पठाएको थियो 

गत साउन १५ गते वैदेशिक रोजगारीका लागि हिँडेका दार्चुला ब्यास गाउँपालिकाका जयसिंह धामीले तर्दै गरेको तुइन भारतीय सुरक्षाकर्मीहरु खुस्काईदिएपछि उनी महाकाली नदीमा खसेर बेपत्ता भएका छन् । गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले पनि भारतीय सशस्त्र सीमा बल (एसएसबी) को संलग्नता रहेको प्रतिवेदन दिएको थियो । त्यस लगत्तै गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई भारतीय पक्षसँग पत्रचार गर्न आग्रह गरेको थियो । त्यसैगरी नेपालको दार्चुला जिल्लामा भारतीय हेलिकोप्टरहरु अनाधिकृत रुपमा उडान गरेको विषयमा कान्तिपुरमा समाचार आएपछि त्यस विषयमा पनि सरकारले विरोध जनाएको छ 

प्रकाशित : भाद्र २२, २०७८ १५:५६

 

Wednesday, June 16, 2021

भारतीय अवरोधबारे परराष्ट्रलाई गृहको पत्र

 भारतीय अवरोधबारे परराष्ट्रलाई गृहको पत्र

दार्चुलाको व्यासस्थित कोठेधारबाट टिंकरसम्म ८७ किमि सडक निर्माणको काम सुरु हुन लागेको र यसक्रममा विस्फोट गर्दा नदी किनारका दुवैतर्फ असर पर्न सक्ने भएकाले दुवै देशका प्रतिनिधिबाट समाधान खोज्ने गरी पहल गर्न आग्रह

कान्तिपुर, असार २, २०७८ मातृका दाहाल

काठमाडौँ — महाकाली नदी तटीय क्षेत्रमा भारतबाट भइरहेका ज्यादती रोक्नका लागि कूटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्रलाई पत्र पठाएको छ 

भारतले सडक बनाउँदा व्यास–२ बयलीधारनजिक महाकालीमा खसेको ढुंगा । फाइल तस्बिर : मनोज बडू/कान्तिपुर

नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी निर्माणाधीन धार्चुला–लिपुलेक सडक विस्तारका क्रममा चट्टान खसेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङ र कल्जु जोड्ने नेपालतर्फको बाटो भत्किएपछि गृहले सीमा क्षेत्रमा भएका यस्ता गतिविधि रोक्नका लागि कूटनीतिक माध्यमबाट पहल गर्न मंगलबार परराष्ट्रलाई पत्र पठाएको हो 

पत्रमा दार्चुलाको व्यासस्थित कोठेधारबाट टिंकरसम्म ८७ किमि सडक निर्माणको काम सुरु हुन लागेको र यसक्रममा विस्फोट गर्दा नदी किनारका दुवैतर्फ असर पर्न सक्ने भन्दै यसलाई समेत दुवै देशका प्रतिनिधिबाट समाधान खोज्ने गरी पहल गर्न भनिएको छ 

दार्चुला–टिंकर सडकखण्डको उक्त बाटो खन्ने जिम्मा सरकारले नेपाली सेनालाई दिइसकेको छ । कल्जुको बाटो भत्किएको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय समकक्षी पिथौरागढ जिल्लाधिकारीलाई पठाएको पत्रको समेत जवाफ नआएको उल्लेख छ । यही जेठ २५ गते पिथौरागढ पाङला ग्रामीण पञ्चायतअन्तर्गत गर्भाधार–शान्तिवन क्षेत्रमा बाटो विस्तार गर्ने क्रममा भारतीय पक्षले चट्टान फोर्न बम विस्फोट गराउँदा पहरो खसेर महाकालीवारि नेपालतर्फको १ सय ५० मिटर गोरेटो बाटो भत्किएको थियो 

विस्फोटबाट महाकालीमा चट्टान खस्दा नदीको धार नेपालतर्फ सोझिएको छ । गृहले परराष्ट्रमा पठाएको पत्रमा भत्किएको नेपालतर्फको बाटो खुलाउन तथा नदीमा खसेको चट्टान भारतीयबाटै हटाउनुपर्ने उल्लेख गरेको छ । त्यस्तै पत्रमा दार्चुलाको व्यास–१, छाङरुनजिकै नेपाल–भारत आउजाउ गर्ने सीतापुल (काठेपुल) को संरक्षणमा भारतीयबाट भइरहेको व्यवधान हटाउनका लागि पहल गर्न भनेको छ 

भारतको पिथौरागढ जिल्ला पाङला ग्रामीण पञ्चायतअन्तर्गत गर्भाधार र शान्तिवनको बीचमा सडक विस्तार गर्ने क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फको दार्चुला जिल्ला व्यास गाउँपालिका–२ कल्जुभीर भन्ने स्थानमा महाकाली नदी थुनिन गई छाङरु र टिंकर जाने गोरेटो बाटो करिब १ सय ५० मिटर पूर्ण रूपमा क्षति भई आवतजावत अवरुद्ध छ,’ पत्रमा भनिएको छ, ‘सोही गाउँपालिकाको वडा १ छाङरुस्थित सीतापुलसमेत जोखिममा परेकाले संरक्षण गर्ने सन्दर्भमा दार्चुलाबाट पिथौराढ जिल्लाधिकारीलाई पत्राचार भएकामा हालसम्म कुनै जवाफ प्राप्त भएको छैन ।’

गृहमन्त्री खगराज अधिकारीले मंगलबार सञ्चारकर्मीसँग भारतीयका कारण कल्जु क्षेत्रमा १ सय ५० मिटर बाटो भत्किएको र महाकालीको बाढीबाट करिब २ सय मिटर नेपाली भूभाग भारततर्फ पर्न गएको भन्दै जमिन फिर्ता र बाटो खुलाउन पहल भइरहेको बताएका थिए । ‘हाम्रो जमिन फिर्ता ल्याउनैपर्छ, यसमा सरकार प्रतिबद्ध छ,’ उनले भने । गृहले परराष्ट्रमा पठाएको पत्रमा भने नेपाली भूभाग भारततर्फ परेको विषय उल्लेख छैन 

दार्चुला सदरमुकामस्थित जिल्ला अस्पतालको पारिपट्टि भारतले महाकाली नदीको बहाव नेपाल फर्कने गरी निर्माण गरेको पक्की तटबन्ध । तस्बिर : मनोज बडू/कान्तिपुर

२०७० असार २ मा महाकाली नदीमा बाढी आउँदा दार्चुला सदरमुकाम खलंगा डुबानमा परेको थियो भने नदीले धार परिवर्तन गर्दा नेपालतर्फको करिब २ सय रोपनी भारततर्फ परेको छ । त्यही भूभाग समेटेर भारतले करिब डेढ सय मिटर लामो तटबन्ध बनाएर नदीको धार नेपालतर्फ सोझ्याएको छ 

८ वर्षअघि धौलीगंगा नदीको सबै बाँध खोलेका कारण महाकालीमा बाढी आएको थियो । बाढीले पारि पुर्‍याएको भूभागको संरक्षणमा यसअघि पटकपटक गरिएका कूटनीतिक पत्राचारको जवाफ नदिई भारतले गएको एकतर्फी बाँध बनाउन थालेको थियो । बाँध निर्माण सकिएको छ तर पत्रको जवाफ अझै आएको छैन 

गृहले जेठ ३० मा पनि बाटो भत्किएको र सीतापुल संरक्षणको विषय समेटेर भारतलाई कूटनीतिक ध्यानाकर्षण गराउन जिल्ला सुरक्षा समिति दार्चुलाको निर्णयसहितको पत्र परराष्ट्रमा पठाएको थियो । तर, परराष्ट्रबाट भारतीय बलजफ्तीका गतिविधि नियन्त्रणमा कुनै पहल नै भएको छैन । गृहले दोस्रो पत्र मंगलबार पुन परराष्ट्रमा पठाएको हो 



दार्चुलाको उत्तरपश्चिमको भारतसित सीमा जोडिएको व्यास गाउँपालिकास्थित सीतापुलको पिल्लर भत्किने अवस्थामा
 । तस्बिर : मनोज बडू/कान्तिपुर

सीतापुलको मर्मतमा व्यवधान एवं र दुम्लिङ–कल्जु क्षेत्रको सडक भारतीयका कारण भत्केका घटनाबाहेक पनि यसअघि घाँटीबगर बाटो निर्माणमा अवरोध र सदरमुकाम खलंगा पारि जमिन अतिक्रमणमा भारतीयको संलग्नता छ 

प्रकाशित : असार २, २०७८ ०६:१६

राष्ट्रिय सुरक्षा व्यवस्थापन : अवधारणा, क्षेत्र र नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरु

  राष्ट्रिय सुरक्षा व्यवस्थापन : अवधारणा , क्षेत्र र नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरु शर्मिला बन्जाडे १२ असार २०७६...