Wednesday, June 16, 2021

भारतीय अवरोधबारे परराष्ट्रलाई गृहको पत्र

 भारतीय अवरोधबारे परराष्ट्रलाई गृहको पत्र

दार्चुलाको व्यासस्थित कोठेधारबाट टिंकरसम्म ८७ किमि सडक निर्माणको काम सुरु हुन लागेको र यसक्रममा विस्फोट गर्दा नदी किनारका दुवैतर्फ असर पर्न सक्ने भएकाले दुवै देशका प्रतिनिधिबाट समाधान खोज्ने गरी पहल गर्न आग्रह

कान्तिपुर, असार २, २०७८ मातृका दाहाल

काठमाडौँ — महाकाली नदी तटीय क्षेत्रमा भारतबाट भइरहेका ज्यादती रोक्नका लागि कूटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्रलाई पत्र पठाएको छ ।

भारतले सडक बनाउँदा व्यास–२ बयलीधारनजिक महाकालीमा खसेको ढुंगा । फाइल तस्बिर : मनोज बडू/कान्तिपुर

नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी निर्माणाधीन धार्चुला–लिपुलेक सडक विस्तारका क्रममा चट्टान खसेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङ र कल्जु जोड्ने नेपालतर्फको बाटो भत्किएपछि गृहले सीमा क्षेत्रमा भएका यस्ता गतिविधि रोक्नका लागि कूटनीतिक माध्यमबाट पहल गर्न मंगलबार परराष्ट्रलाई पत्र पठाएको हो ।

पत्रमा दार्चुलाको व्यासस्थित कोठेधारबाट टिंकरसम्म ८७ किमि सडक निर्माणको काम सुरु हुन लागेको र यसक्रममा विस्फोट गर्दा नदी किनारका दुवैतर्फ असर पर्न सक्ने भन्दै यसलाई समेत दुवै देशका प्रतिनिधिबाट समाधान खोज्ने गरी पहल गर्न भनिएको छ ।

दार्चुला–टिंकर सडकखण्डको उक्त बाटो खन्ने जिम्मा सरकारले नेपाली सेनालाई दिइसकेको छ । कल्जुको बाटो भत्किएको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय समकक्षी पिथौरागढ जिल्लाधिकारीलाई पठाएको पत्रको समेत जवाफ नआएको उल्लेख छ । यही जेठ २५ गते पिथौरागढ पाङला ग्रामीण पञ्चायतअन्तर्गत गर्भाधार–शान्तिवन क्षेत्रमा बाटो विस्तार गर्ने क्रममा भारतीय पक्षले चट्टान फोर्न बम विस्फोट गराउँदा पहरो खसेर महाकालीवारि नेपालतर्फको १ सय ५० मिटर गोरेटो बाटो भत्किएको थियो ।

विस्फोटबाट महाकालीमा चट्टान खस्दा नदीको धार नेपालतर्फ सोझिएको छ । गृहले परराष्ट्रमा पठाएको पत्रमा भत्किएको नेपालतर्फको बाटो खुलाउन तथा नदीमा खसेको चट्टान भारतीयबाटै हटाउनुपर्ने उल्लेख गरेको छ । त्यस्तै पत्रमा दार्चुलाको व्यास–१, छाङरुनजिकै नेपाल–भारत आउजाउ गर्ने सीतापुल (काठेपुल) को संरक्षणमा भारतीयबाट भइरहेको व्यवधान हटाउनका लागि पहल गर्न भनेको छ ।

‘भारतको पिथौरागढ जिल्ला पाङला ग्रामीण पञ्चायतअन्तर्गत गर्भाधार र शान्तिवनको बीचमा सडक विस्तार गर्ने क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फको दार्चुला जिल्ला व्यास गाउँपालिका–२ कल्जुभीर भन्ने स्थानमा महाकाली नदी थुनिन गई छाङरु र टिंकर जाने गोरेटो बाटो करिब १ सय ५० मिटर पूर्ण रूपमा क्षति भई आवतजावत अवरुद्ध छ,’ पत्रमा भनिएको छ, ‘सोही गाउँपालिकाको वडा १ छाङरुस्थित सीतापुलसमेत जोखिममा परेकाले संरक्षण गर्ने सन्दर्भमा दार्चुलाबाट पिथौराढ जिल्लाधिकारीलाई पत्राचार भएकामा हालसम्म कुनै जवाफ प्राप्त भएको छैन ।’

गृहमन्त्री खगराज अधिकारीले मंगलबार सञ्चारकर्मीसँग भारतीयका कारण कल्जु क्षेत्रमा १ सय ५० मिटर बाटो भत्किएको र महाकालीको बाढीबाट करिब २ सय मिटर नेपाली भूभाग भारततर्फ पर्न गएको भन्दै जमिन फिर्ता र बाटो खुलाउन पहल भइरहेको बताएका थिए । ‘हाम्रो जमिन फिर्ता ल्याउनैपर्छ, यसमा सरकार प्रतिबद्ध छ,’ उनले भने । गृहले परराष्ट्रमा पठाएको पत्रमा भने नेपाली भूभाग भारततर्फ परेको विषय उल्लेख छैन ।

दार्चुला सदरमुकामस्थित जिल्ला अस्पतालको पारिपट्टि भारतले महाकाली नदीको बहाव नेपाल फर्कने गरी निर्माण गरेको पक्की तटबन्ध । तस्बिर : मनोज बडू/कान्तिपुर

२०७० असार २ मा महाकाली नदीमा बाढी आउँदा दार्चुला सदरमुकाम खलंगा डुबानमा परेको थियो भने नदीले धार परिवर्तन गर्दा नेपालतर्फको करिब २ सय रोपनी भारततर्फ परेको छ । त्यही भूभाग समेटेर भारतले करिब डेढ सय मिटर लामो तटबन्ध बनाएर नदीको धार नेपालतर्फ सोझ्याएको छ ।

८ वर्षअघि धौलीगंगा नदीको सबै बाँध खोलेका कारण महाकालीमा बाढी आएको थियो । बाढीले पारि पुर्‍याएको भूभागको संरक्षणमा यसअघि पटकपटक गरिएका कूटनीतिक पत्राचारको जवाफ नदिई भारतले गएको एकतर्फी बाँध बनाउन थालेको थियो । बाँध निर्माण सकिएको छ तर पत्रको जवाफ अझै आएको छैन ।

गृहले जेठ ३० मा पनि बाटो भत्किएको र सीतापुल संरक्षणको विषय समेटेर भारतलाई कूटनीतिक ध्यानाकर्षण गराउन जिल्ला सुरक्षा समिति दार्चुलाको निर्णयसहितको पत्र परराष्ट्रमा पठाएको थियो । तर, परराष्ट्रबाट भारतीय बलजफ्तीका गतिविधि नियन्त्रणमा कुनै पहल नै भएको छैन । गृहले दोस्रो पत्र मंगलबार पुन परराष्ट्रमा पठाएको हो ।



दार्चुलाको उत्तरपश्चिमको भारतसित सीमा जोडिएको व्यास गाउँपालिकास्थित सीतापुलको पिल्लर भत्किने अवस्थामा
 । तस्बिर : मनोज बडू/कान्तिपुर

सीतापुलको मर्मतमा व्यवधान एवं र दुम्लिङ–कल्जु क्षेत्रको सडक भारतीयका कारण भत्केका घटनाबाहेक पनि यसअघि घाँटीबगर बाटो निर्माणमा अवरोध र सदरमुकाम खलंगा पारि जमिन अतिक्रमणमा भारतीयको संलग्नता छ ।

प्रकाशित : असार २, २०७८ ०६:१६

No comments:

The Challenges and Opportunities for Peace and Justice in Nepal

The Challenges and Opportunities for Peace and Justice in Nepal Invest in Peace-For Everyone, Everywhere, Every Day, Govind Prasad Thapa...