Wednesday, June 16, 2021

भारतीय अवरोधबारे परराष्ट्रलाई गृहको पत्र

 भारतीय अवरोधबारे परराष्ट्रलाई गृहको पत्र

दार्चुलाको व्यासस्थित कोठेधारबाट टिंकरसम्म ८७ किमि सडक निर्माणको काम सुरु हुन लागेको र यसक्रममा विस्फोट गर्दा नदी किनारका दुवैतर्फ असर पर्न सक्ने भएकाले दुवै देशका प्रतिनिधिबाट समाधान खोज्ने गरी पहल गर्न आग्रह

कान्तिपुर, असार २, २०७८ मातृका दाहाल

काठमाडौँ — महाकाली नदी तटीय क्षेत्रमा भारतबाट भइरहेका ज्यादती रोक्नका लागि कूटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्रलाई पत्र पठाएको छ 

भारतले सडक बनाउँदा व्यास–२ बयलीधारनजिक महाकालीमा खसेको ढुंगा । फाइल तस्बिर : मनोज बडू/कान्तिपुर

नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी निर्माणाधीन धार्चुला–लिपुलेक सडक विस्तारका क्रममा चट्टान खसेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङ र कल्जु जोड्ने नेपालतर्फको बाटो भत्किएपछि गृहले सीमा क्षेत्रमा भएका यस्ता गतिविधि रोक्नका लागि कूटनीतिक माध्यमबाट पहल गर्न मंगलबार परराष्ट्रलाई पत्र पठाएको हो 

पत्रमा दार्चुलाको व्यासस्थित कोठेधारबाट टिंकरसम्म ८७ किमि सडक निर्माणको काम सुरु हुन लागेको र यसक्रममा विस्फोट गर्दा नदी किनारका दुवैतर्फ असर पर्न सक्ने भन्दै यसलाई समेत दुवै देशका प्रतिनिधिबाट समाधान खोज्ने गरी पहल गर्न भनिएको छ 

दार्चुला–टिंकर सडकखण्डको उक्त बाटो खन्ने जिम्मा सरकारले नेपाली सेनालाई दिइसकेको छ । कल्जुको बाटो भत्किएको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय समकक्षी पिथौरागढ जिल्लाधिकारीलाई पठाएको पत्रको समेत जवाफ नआएको उल्लेख छ । यही जेठ २५ गते पिथौरागढ पाङला ग्रामीण पञ्चायतअन्तर्गत गर्भाधार–शान्तिवन क्षेत्रमा बाटो विस्तार गर्ने क्रममा भारतीय पक्षले चट्टान फोर्न बम विस्फोट गराउँदा पहरो खसेर महाकालीवारि नेपालतर्फको १ सय ५० मिटर गोरेटो बाटो भत्किएको थियो 

विस्फोटबाट महाकालीमा चट्टान खस्दा नदीको धार नेपालतर्फ सोझिएको छ । गृहले परराष्ट्रमा पठाएको पत्रमा भत्किएको नेपालतर्फको बाटो खुलाउन तथा नदीमा खसेको चट्टान भारतीयबाटै हटाउनुपर्ने उल्लेख गरेको छ । त्यस्तै पत्रमा दार्चुलाको व्यास–१, छाङरुनजिकै नेपाल–भारत आउजाउ गर्ने सीतापुल (काठेपुल) को संरक्षणमा भारतीयबाट भइरहेको व्यवधान हटाउनका लागि पहल गर्न भनेको छ 

भारतको पिथौरागढ जिल्ला पाङला ग्रामीण पञ्चायतअन्तर्गत गर्भाधार र शान्तिवनको बीचमा सडक विस्तार गर्ने क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फको दार्चुला जिल्ला व्यास गाउँपालिका–२ कल्जुभीर भन्ने स्थानमा महाकाली नदी थुनिन गई छाङरु र टिंकर जाने गोरेटो बाटो करिब १ सय ५० मिटर पूर्ण रूपमा क्षति भई आवतजावत अवरुद्ध छ,’ पत्रमा भनिएको छ, ‘सोही गाउँपालिकाको वडा १ छाङरुस्थित सीतापुलसमेत जोखिममा परेकाले संरक्षण गर्ने सन्दर्भमा दार्चुलाबाट पिथौराढ जिल्लाधिकारीलाई पत्राचार भएकामा हालसम्म कुनै जवाफ प्राप्त भएको छैन ।’

गृहमन्त्री खगराज अधिकारीले मंगलबार सञ्चारकर्मीसँग भारतीयका कारण कल्जु क्षेत्रमा १ सय ५० मिटर बाटो भत्किएको र महाकालीको बाढीबाट करिब २ सय मिटर नेपाली भूभाग भारततर्फ पर्न गएको भन्दै जमिन फिर्ता र बाटो खुलाउन पहल भइरहेको बताएका थिए । ‘हाम्रो जमिन फिर्ता ल्याउनैपर्छ, यसमा सरकार प्रतिबद्ध छ,’ उनले भने । गृहले परराष्ट्रमा पठाएको पत्रमा भने नेपाली भूभाग भारततर्फ परेको विषय उल्लेख छैन 

दार्चुला सदरमुकामस्थित जिल्ला अस्पतालको पारिपट्टि भारतले महाकाली नदीको बहाव नेपाल फर्कने गरी निर्माण गरेको पक्की तटबन्ध । तस्बिर : मनोज बडू/कान्तिपुर

२०७० असार २ मा महाकाली नदीमा बाढी आउँदा दार्चुला सदरमुकाम खलंगा डुबानमा परेको थियो भने नदीले धार परिवर्तन गर्दा नेपालतर्फको करिब २ सय रोपनी भारततर्फ परेको छ । त्यही भूभाग समेटेर भारतले करिब डेढ सय मिटर लामो तटबन्ध बनाएर नदीको धार नेपालतर्फ सोझ्याएको छ 

८ वर्षअघि धौलीगंगा नदीको सबै बाँध खोलेका कारण महाकालीमा बाढी आएको थियो । बाढीले पारि पुर्‍याएको भूभागको संरक्षणमा यसअघि पटकपटक गरिएका कूटनीतिक पत्राचारको जवाफ नदिई भारतले गएको एकतर्फी बाँध बनाउन थालेको थियो । बाँध निर्माण सकिएको छ तर पत्रको जवाफ अझै आएको छैन 

गृहले जेठ ३० मा पनि बाटो भत्किएको र सीतापुल संरक्षणको विषय समेटेर भारतलाई कूटनीतिक ध्यानाकर्षण गराउन जिल्ला सुरक्षा समिति दार्चुलाको निर्णयसहितको पत्र परराष्ट्रमा पठाएको थियो । तर, परराष्ट्रबाट भारतीय बलजफ्तीका गतिविधि नियन्त्रणमा कुनै पहल नै भएको छैन । गृहले दोस्रो पत्र मंगलबार पुन परराष्ट्रमा पठाएको हो 



दार्चुलाको उत्तरपश्चिमको भारतसित सीमा जोडिएको व्यास गाउँपालिकास्थित सीतापुलको पिल्लर भत्किने अवस्थामा
 । तस्बिर : मनोज बडू/कान्तिपुर

सीतापुलको मर्मतमा व्यवधान एवं र दुम्लिङ–कल्जु क्षेत्रको सडक भारतीयका कारण भत्केका घटनाबाहेक पनि यसअघि घाँटीबगर बाटो निर्माणमा अवरोध र सदरमुकाम खलंगा पारि जमिन अतिक्रमणमा भारतीयको संलग्नता छ 

प्रकाशित : असार २, २०७८ ०६:१६

No comments:

Small State, Big Challenges: How Bangladesh is Coping with Indo-Pacific Dynamics

  Small State, Big Challenges: How Bangladesh is Coping with Indo-Pacific Dynamics 2 January 2025, NIICE Commentary 9821 Md. Saifullah Akon ...